काठमाडौँ। गृहमन्त्री सुदन गुरुङले तिहारको अवसरमा देउसी-भैलो खेल्ने नाममा हुने अश्लील, अमर्यादित तथा सामाजिक सद्भावमा असर पुर्याउने गतिविधिमाथि कानुनबमोजिम कारबाही गरिने बताएका छन्।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक सन्देश दिँदै गृहमन्त्री गुरुङले चाडपर्वको मौलिकता र सांस्कृतिक मर्यादामा आँच पुर्याउने गतिविधिप्रति सरकार गम्भीर रहेको बताएका हुन्।
परम्परागत देउसी-भैलोको सांस्कृतिक महत्त्व संरक्षण गर्दै विकृति र अवाञ्छित क्रियाकलाप नियन्त्रण गर्न गृह मन्त्रालय प्रतिबद्ध रहेको उनको भनाइ छ।
उनले देउसी-भैलोका क्रममा अश्लील तथा अमर्यादित गतिविधि भएको पाइए तत्काल नजिकको प्रहरी कार्यालय वा प्रहरी नियन्त्रण कक्षको १०० नम्बरमा जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेका छन्।
मर्यादित रूपमा २४सै घण्टा देउसी-भैलो खेल्न अनुमति
यसअघि गृह मन्त्रालयले तिहारमा देउसी-भैलो कार्यक्रम सुरक्षित, व्यवस्थित र मर्यादित रूपमा २४सै घण्टा सञ्चालन गर्न दिन देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो।
सोमबारको सचिवस्तरीय निर्णयअनुसार जारी परिपत्रमा मौलिक कला र संस्कृतिको संरक्षण गर्दै सामाजिक सद्भाव कायम हुने गरी देउसी-भैलो सञ्चालन गर्न सहजीकरण गर्न भनिएको छ।
मन्त्रालयले देउसी-भैलो पूर्ण रूपमा स्वैच्छिक हुनुपर्ने र कसैलाई पनि चन्दा वा दक्षिणा दिन बाध्य पार्न नपाइने स्पष्ट पारेको छ।
त्यस्तै, जातजाति, धर्म, भाषा, लिङ्ग वा समुदायप्रति घृणा तथा द्वेष फैलाउने गीत, संगीत, नृत्य र नाराको प्रयोग रोक्न पनि प्रशासनलाई निर्देशन दिइएको छ।
चाडपर्व मनाउने क्रममा जुवातास खेल्ने, सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला गर्ने तथा मादक पदार्थ वा लागूपदार्थ सेवन गरेर सवारीसाधन चलाउने गतिविधि नियन्त्रण गर्नसमेत मन्त्रालयले निर्देशन दिएको छ।
अस्पताल, वृद्धाश्रमलगायत संवेदनशील क्षेत्र आसपास अत्यधिक आवाज आउने ध्वनि उपकरण प्रयोग नगर्न र सार्वजनिक तथा निजी सम्पत्तिको संरक्षणमा ध्यान दिन पनि आग्रह गरिएको छ।
सुरक्षा उल्लंघनका घटना प्रहरीलाई जानकारी गराउन आग्रह
गृह मन्त्रालयले देउसी-भैलो कार्यक्रमका क्रममा सार्वजनिक शान्ति सुरक्षा र सामाजिक सद्भावमा असर पार्ने गतिविधि हुन नदिन स्थानीय प्रशासन र प्रहरीलाई सक्रिय रहन निर्देशन दिएको छ।
चाडपर्व मनाउने स्वतन्त्रताको सम्मान गर्दै नागरिकको सुरक्षा, सांस्कृतिक मर्यादा र सार्वजनिक अनुशासन कायम गर्नु सरकारको प्राथमिकता रहेको गृहमन्त्री गुरुङको सन्देश छ।
मन्त्रालयले देउसी-भैलो सञ्चालनका क्रममा कुनै शङ्कास्पद गतिविधि, दुर्घटना वा सुरक्षा समस्या देखिए प्रहरीको आपत्कालीन नम्बर १०० वा आपत्कालीन कार्य सञ्चालन केन्द्रको १२३४ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ।
सरकारले यस वर्ष देउसी-भैलो खेल्ने समयसीमा खुकुलो बनाउँदै २४सै घण्टा सञ्चालन गर्न दिने निर्णय गरे पनि त्यसको आडमा कानुन विपरीत गतिविधि गर्न छुट नहुने स्पष्ट पारेको छ।





