काठमाडौँ । आज (शुक्रबार) साँझ ६ बजेका लागि सारिएको प्रतिनिधि सभाको बैठक शनिबार दिउँसो ४ बजेसम्मका लागि स्थगित भएको छ।
संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा विशेष कारणवश बैठक शनिबार दिउँसो ४ बजेका लागि निर्धारण गरिएको उल्लेख छ।
आजको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्मा अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको थियो। सभामुख देवराज घिमिरेले बैठक २० मिनेटका लागि स्थगित गरेका थिए।
एमालेले अध्यक्ष केपी शर्मा ओलीमाथि सत्तापक्षले पशुपतिको मन्दिरको गजुरका विषयमा आधारहीन आरोप लगाएको भन्दै एमाले सांसदले बेल घेराउ गरेका थिए।
सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख घिमिरेले पटक-पटक सांसदहरूलाई बस्न आग्रह गरेका थिए। तर, सरकारबाट प्रस्ट जवाफ नआएसम्म आफूहरूले संसद् अवरोध भन्दै एमाले सांसदहरूले बेल घेराउ गरेका थिए।
त्यसपछि सभामुखले बैठक स्थगित गरी दिउँसो ३ बजेका लागि समय निर्धारण गरेका थिए तर दिउँसो ३ बजेको बैठकमा पनि कुनै सहमति हुन नसकेपछि बैठक साँझ ६ बजेका लागि बोलाइएको थियो।
