काठमाडौँ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले राजस्वमा नीतिगत भ्रष्टाचारको शङ्का गरेका छन् ।
एक कार्यक्रममा खतिवडाले भने, ‘बाहिर सुनिए जस्तो नीतिगत भ्रष्टाचार भएको नहोस् ।’
बजेटमा दोस्रो पटक मुसा पसेको विषय सुनेको भन्दै उनले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई यसो भएको नहोस् भनी व्यङ्ग्य गरेका हुन् ।
खतिवडाले भने, ‘सञ्चारमाध्यममा दोस्रो पटक मुसा पसेको विषय आएको छ । यसो नभएको होस् । म मन्त्री महतलाई शुभकामना दिन चाहन्छु । यी कुरा सत्य नहोउन् । सत्यको पक्षमा उभिनुहोला ।’
खतिवडाले आफू अर्थमन्त्री रहँदा सङ्घीयता कार्यान्वयनमा ठूलो खर्च भएकाले बजेटको आकार बढाउनुपरेको बताए ।
‘चालू खर्च टार्न आन्तरिक ऋण उठाउने अवस्था आइसकेको छ’, खतिवडाले भने, ‘तर, हामी ऋण लिएर अनुदान बाँड्ने ठाउँमा छौँ। ऋण सही ठाउँमा लगानी भयो कि भएन सो कुरा हेर्न जरुरी छ ।’
सामाजिक सुरक्षामा दक्षिण एसियामै धेरै राम्रो पोजिसनमा रहेकाले सरकारले केही गर्नै सकेन भनेर भन्न नहुने खतिवडाको भनाइ छ ।
उनले ६ अङ्कको आर्थिक वृद्धिको लक्ष्य भेट्न कठिन नहुने बताए । ‘यसको लागि उद्योगीलाई चालू पूँजी कर्जा बढाउनुपर्छ । तर, आन्तरिक ऋण बढाएर ब्याजदर घटाउ भन्ने अर्थ मन्त्रालयको कुरामा तालमेल छैन’, खतिवडाले भने ।







