काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशमा भ्रष्टाचार विरोधी र सुशासनको अभियानलाई सफल नबनाए राजनीतिक प्रणालीमाथि नै खतरा निम्तिने दाबी गरेका छन् ।
नेपाल बुद्धिजीवी सङ्गठनले आज बिहीवार काठमाडौँ योजना गरेको कार्यक्रममा गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले सरकारले संविधान र कानुनअनुसार निष्पक्ष ढङ्गले दृढतापूर्वक अहिलेको अभियानलाई अघि बढाउने बताए । राजनीतिक प्रणालीमाथि खतरा निम्तिने कुराले राष्ट्रियतामाथि गम्भीर खतरा उत्पन्न हुने उनको भनाइ छ ।
गृहमन्त्री श्रेष्ठले देश बनाउन सकिन्छ कि सकिँदैन भन्ने नभई बनाएरै छोड्ने प्रतिबद्धता जनाए । उनले अब तैँ चुप मै चुप भएर यथास्थिति कायम गर्ने प्रक्रियाले देश बन्न नसक्ने भन्दै देश बरबाद हुन दिन नसकिने उल्लेख गरे ।
उनले भने, ‘को सरकारमा को प्रतिपक्षमा छ भन्ने आधारले होइन, कसले आफूलाई समर्थन गर्छ भन्ने आधारमा होइन, सरकारले संविधान र कानुनअनुसार निष्पक्ष ढङ्गले दृढतापूर्वक अहिलेको अभियानलाई अघि बढाउनुपर्छ । अझ सशक्त र प्रभावकारी बनाउनुपर्छ । यो अभियानलाई सफल बनाइएन भने मेरो, मेरो पार्टीको, अहिलेको सरकारको कुरा होइन, राजनीतिक प्रणालीमाथि खतरा पैदा हुन्छ । त्यो दिशातिर जान दिनु हुँदैन, त्यस कारण बनाउन सकिन्छ कि सकिँदैन होइन, बनाइन्छ, बनाउनुपर्छ । अब तैँ चुप मै चुप भएर यथास्थिति कायम प्रक्रियाले देश बन्दैन, देश बरबाद हुन दिन सकिँदैन । अब बनाउनै पर्छ । को सत्तापक्षमा छ, को प्रतिपक्ष भनेर नहेरौँ ।’