काठमाडौँ । साउदी अरबलाई ३०१ रनले हराउँदै नेपाल एसीसी पुरुष यू-१९ प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
मलेसियामा बिहीबार भएको खेलमा नेपालले साउदी अरबलाई फराकिलो अन्तरले हराएको हो। यो जितसँगै नेपाल समूह ‘ए’ को शीर्षस्थानमा रहेर सेमिफाइनलमा प्रवेश गरेको छ।
नेपालले दिएको ३४८ रनको लक्ष्य पछ्याउने क्रममा साउदी अरब १९.१ ओभरमा ४६ रनमै समेटियो। साउदी अरबका लागि वरुण सरावननले ११ रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्क पनि जोड्न सकेनन्।
नेपालका लागि दीपेश कँडेलले ६ विकेट लिए। त्यस्तै, आकाश चन्दले दुई र सुवास भण्डारीले एक विकेट लिए।
यसअघि ब्याटिङ गर्दै नेपालले आठ विकेटको क्षतिमा ३४७ रन बनाएको हो। नेपालका लागि अर्जुन कुमालले १११ बलमा १४२ रन बनाए। उनले १७ चौका र दुई छक्का प्रहार गरे।
त्यस्तै, नेपालका लागि आकाश त्रिपाठीले ८९, दीपक बोहराले २९, विशालविक्रम केसीले २४, दीपकप्रसाद डुम्रे र दीपक कँडेलले १४-१४ रन बनाए।
साउदी अरबका लागि मोहम्मद अहम्द राजा, मोहम्मद घायुर अहम्द र अब्दुल्लाह सिरजले दुई-दुई तथा जुहैर मुहम्मद र मुजीबुर रहमानले एक-एक विकेट लिए।
नेपालले समूह चरणका तीन खेल जितेको छ। यसअघि समूह चरणमा बहराइन र इरानलाई पराजित गरेको थियो।







