काठमाडौँ । श्रम स्वीकृति लगायत वैदेशिक रोजगारीका लागि नक्कली कागजात बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गोरखा बारपाक सुलिकोट-४ घर भई हाल काठमाडौँ बनस्थली बस्ने २३ वर्षीय अजित फेवाली र सोही ठाउँमा घर भई हाल काठमाडौँको नागार्जुन–१ रानीवन बस्ने २१ वर्षीय विपीन ढकाल रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।
उनका अनुसार भिजिट भिसामा विदेश जान लागेका व्यक्ति शङ्कास्पद रहेको भनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पठाइएका कागजातमध्ये सुजल हेङगजुको नाममा रहेको श्रम स्वीकृति नक्कली देखिएको थियो ।
उक्त कागजात बनाउने फेवाली र ढकाल रहेको अनुसन्धानबाट खुल्न आएकाले निजहरूलाई पक्राउ गरिएको केसीले बताए । उनीहरूलाई कामपा-१३ मा घर भाडामा लिई वैदेशिक रोजगारसम्बन्धी काम गर्ने ट्राभल्सबाट पक्राउ गरिएको थियो ।
उक्त ट्राभल्सको खानतलासी गर्दा ढकाल र फेवालीको मोबाइल एक-एक थानलगायत अन्य सामग्री बरामद गरिएको प्रहरी उपरीक्षक केसीले बताए । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त कालीमाटी पठाइएको उनले जानकारी दिए ।