काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्रीलाई विश्वासको मत लिन अवरोध गरेर नेपाली काँग्रेसले लोकतन्त्रको भद्दा मजाक गरेको आरोप लगाएका छन् ।
सोमबार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै गृहमन्त्री लामिछानेले यस्तो आरोप लगाएका हुन् । प्रधानमन्त्रीलाई कुनै एक दलले दिएको समर्थन फिर्ता लिएपछि संसदमा विश्वासको मत लिने संवैधानिक व्यवस्था रहेको भन्दै संसदको विधिअनुसार विश्वासको मत लिँदा समेत काँग्रेसले अवरोध गरेको बताए ।
उनले भने, ‘प्रधानमन्त्रीले विश्वासको मतका लागि सरकारमा भएको दलले विश्वासको मत छैन भनेपछि विश्वासको मत दिने संवैधानिक व्यवस्थालाई अवरुद्ध गर्नु लोकतन्त्रको भद्दा मजाक हो ।’
गृहमन्त्री लामिछानेले सरकार व्यक्ति केन्द्रित नभई विषय केन्द्रित भएर सहकारीका समस्या समाधान गर्न तिर लाग्ने बताए । उनले संसदीय समिति गठन गर्ने र सहकारी ठगलाई कारबाही गर्नुपर्ने माग जाहेज भएको तर व्यक्ति केन्द्रित माग सम्बोधन हुन नसक्ने बताए । उनले सरकारले सहकारी पीडितहरूको न्यायको लागि द्रुत गतिमा काम गर्ने प्रतिबद्धता जनाए । उनले प्रमुख प्रतिपक्षले व्यक्ति केन्द्रित भएर समिति बनाउन नाराबाजी गरे पनि सरकार व्यक्ति केन्द्रित नभई संवेदनशिल र विषय केन्द्रित भएर समस्या समाधान गर्नतिर लाग्ने बताए ।