काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले सरकार अधिनायवादतर्फ उन्मुख रहेको टिप्पणी गरेका छन् ।
नेता कोइरालाले सहकारी ठगी काण्ड लुकाउने र संरक्षण गर्ने कार्य कुनै हालतमा सह्य नहुने चेतावनी दिँदै काँग्रेसले यो विषयमा सदन र सडक दुवैतर्फ दबाब बढाउने बताए । नेपाल प्रेस युनियनको ३३औँ स्थापना दिवसको अवसरमा प्रेस युनियन कोशी प्रदेशले बिहीबार विराटनगरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेता कोइरालाले गृहमन्त्री रवि लामिछानेका दुई वटा राहदानी र नागरिकताका विषयमा पनि छानबिन हुनुपर्ने माग अघि सारेका छन् । उनले सहकारी ठगी प्रकरणमात्रै नभएर पासपोर्ट र नागरिकताका विषयमा पनि गृहमन्त्री लामिछानेमाथि छानबिनको माग गरेका हुन् ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, युनियनका कोशी प्रदेश अध्यक्ष मिनकुमार नवोदितलगायतले सम्बोधन गरेका थिए ।