काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी अध्यक्ष अन्जना शाह रावलले राजीनामा फिर्ता लिएकी छन् ।
उनले फेसबुकमार्फत राजीनामा फिर्ता लिने निर्णय लिएको जानकारी दिएकी छन् । रावलले महामन्त्री राजेन्द्र गुरुङलाई आफ्नो राजीनामा फिर्ता गरिदिन पत्र पठाएकी छन् ।
संगठनभित्र चरम असहयोग र काम गर्ने अवस्था नभएको भन्दै गत असार ५ गते अन्जनाले महिला संगठनको अध्यक्षसहित राप्रपाको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएकी थिइन् । साथै आफू र आफ्नो परिवार राप्रपाको मतदाता समेत नरहने घोषणा गरेकी थिइन् ।
उनले पार्टीको शीर्ष नेताहरूको निर्देशनको कारण राजीनामा फिर्ता लिएको बताएकी छन् । आफूले दिएको राजीनामा विधान अनुसार नभएको र फेसबुकबाट दिएको राजीनामा फेसबुकबाटै नै फिर्ता लिनुपर्ने भएकाले फेसबुकमार्फत फिर्ता लिएको प्रष्ट पारेकी छन् ।
रावलले आफ्नो राजीनापत्रले पार्टीलाई पुग्न गएको क्षति प्रति पनि माफी मागेकी छन् ।
उनले लेखेकी छन्,’मेरो उद्देश्य मेरो पार्टीलाई हानी पुर्याउने कदापि थिएन । शीर्ष नेताज्युहरुको निर्देशन , मेरा साथीहरूको आग्रह , सङ्गठनका मेरो प्यारा दिदिबहिनीहरुको माया , स्नेह, अपनत्व अनि सद्भावका कारण म जिम्मेवारीबाट पन्छिन नसक्ने भएकी छु । मैले दिएको राजीनामा विधान अनुसार नभएको र जहाँ दिएको त्यहाँबाट स्वीकृत गर्न नमिल्ने भन्ने कुराको जानकारी प्राप्त भएको साथै जसरी फेसबुकबाट राजीनामा सार्वजनिक भएको थियो त्यसरी नै फिर्ता लिनुपर्ने भन्ने कुरा आएकोले मैले मेरो राजीनामा फिर्ता लिएको जानकारी गराउन चाहन्छु । आगामी दिनमा मेरो पार्टी प्रतिको निष्ठामा कुनै पनि सम्झौता नगरी पार्टी लाई थप उचाइ दिन म अहम भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । मेरो राजीनामा पत्रले पार्टी लाई पुग्न गएको क्षति प्रति म क्षमा चाहन्छु ।’







