काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले सरकारले सबै राजमार्गमा टेलिफोनको ‘नेटवर्क कभरेज’ गर्ने गरी काम गरिरहेको बताएका छन् ।
नेपाल मोबाइल व्यवसायी महासङ्घको तेस्रो स्थापना दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा उनले जनतालाई गुणस्तरीय सञ्चार सेवा प्रदान गर्न सरकार राजमार्गमा टेलिफोनको नेटवर्क कभरेज विस्तारमा केन्द्रित रहेको उल्लेख गरे ।
सचिव सुवेदीले सरकार नयाँ दूरसञ्चार ऐन बनाउन लागेको र सरोकारवालाको सुझावका लागि विधेयकको मस्यौदा मन्त्रालयको वेभसाइटमा राखिएको जानकारी गराउँदै आवश्यक सुझावका लागि आग्रह गरे ।
आजको सूचना प्रविधिको डिजिटल युगमा मोबाइल आम मानिसको अभिन्न अङ्ग बनेको र सबैको दैनिक जीवनसँग जोडिएको बताउँदै उनले मोबाइल विद्यार्थीका लागि सजिलो सिकाइको माध्यमसमेत बनेको उल्लेख गरे । सूचना प्रविधिको महत्वलाई आत्मसात् गर्दै सरकारले आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणा गरेको सचिव सुवेदीको भनाइ थियो ।
कार्यक्रममा महासङ्घका अध्यक्ष भरत भट्टराईले यो क्षेत्रका व्यवसायीले आफ्नो व्यवसायसँगै ठूलो मात्रामा सरकारलाई कर तिरिरहेको बताउँदै सरकारले त्यस्तो कर जनताको शिक्षा स्वास्थ्य जस्तो क्षेत्रमा सदुपयोग गर्नुपर्नेमा जोड दिए ।
साथै उनले मोबाइल उत्पादक कम्पनीले उपभोक्तालाई भार नपर्ने गरी वितरकलाई १० प्रतिशत ‘मार्जिन’ प्रदान गर्न सके यो व्यवसाय दिगो हुने धारणा व्यक्त गरे ।