झापा । मेचीनगर नगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा आन्तरिक राजस्व रु. १३ करोड ५२ लाख पाँच हजार आठ सय ९७ सङ्कलन गरेको छ । आव २०७९/८० तुलनामा रु। एक करोड ९० लाख ८४ हजार दुई सय बढी राजस्व संकलन भएको हो ।
नगरकी राजस्व परामर्श समितिका संयोजक एवं नगर उपप्रमुख मिना पोख्रेल उप्रेतीले आव २०७९/८० मा आन्तरिक राजस्व रु ११ करोड ६१ लाख २१ हजार छ सय ९७ संकलन भएको जानकारी दिए। एक वर्षमा रु. दुई करोडको हाराहारीमा आन्तरिक आयस्रोत वृद्धि हुनु आर्थिक दृष्टिले उत्साहजनक रहेको उनले बताए ।
नगरपालिकाको राजस्व उपशाखाले विभिन्न ५० शीर्षकमा करबापत राजस्व संकलन गर्दै आएको छ । सम्पत्ति करतर्फ रु. तीन करोड ४० लाख १९ हजार छ सय ४५ र अन्य सेवा शुल्कबापत रु दुई करोड ३१ लाख ९७ हजार तीन सय ८१ संकलन भएको छ । व्यवसाय कर, नक्सा पास दस्तुर, सिफारिस दस्तुरलगायत शीर्षकमा कर संकलन गरिने उनले जानकारी दिए ।
मेचीनगरमा रहेका १५ वडामध्ये वडा नं ६ ले उक्त अवधिमा सबैभन्दा बढी रु. एक करोड ७६ लाख २७ हजार सात सय एक राजस्व संकलन गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिए । दोस्रोमा वडा नं १० रहेको बताउँदै यसले रु. एक करोड ६३ लाख ९९ हजार पाँच सय ४५ राजस्व संकलन गरेको उनले बताए ।
वडागत रूपमा सबैभन्दा बढी सम्पत्ति कर वडा नं १० ले रु. ५९ लाख ७९ हजार ४३ संकलन गरेको छ । नगरपालिकाले चालु आवमा रु. १६ करोड ७७ लाख आन्तरिक आय संकलन गर्ने लक्ष्य लिएको राजस्व उपशाखाका प्रमुख प्रेमप्रसाद पराजुलीले बताए ।
चालु आवमा नगरको कूल बजेट रु। दुई अर्ब पाँच करोड २९ लाख दुई हजार रहेको छ ।