काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सङ्क्रमणकालीन न्याय दलीय स्वार्थको आधारमा गर्न खोजिनु दुर्भाग्यपूर्ण भएको भन्दै केही दल मात्र मिलेर चलखेल नगर्न समेत सचेत गराएका छन् ।
गम्भीर प्रकृतिका मुद्दाहरूमा सजाय निर्धारण गर्दा ७५ प्रतिशत माफी मिनाहा दिन खोजिएको भन्दै उनले त्यो आपत्तिजनक हुने बताए ।
पार्टी निकट पूर्वप्रहरी संगठनको कार्यक्रममा बोल्दै थापाले ३ दलले गठबन्धन गरे भन्दैमा जे मा पनि उन्मुक्ति दिन नपाइने चर्चा गर्दै थापाले पीडित सरोकारवालाको सहमति बिना ल्याइने कानुनले सङ्क्रमणकालीन न्याय दिन नसक्ने समेत दाबी गरे । उनले बाल सेना शब्द हटाइएर सहमति गर्न खोजिएकोमा पनि तीव्र असन्तुष्टि पोखे । प्रहरी प्रशासनमा भइरहेको नाङ्गो राजनीतिक हस्तक्षेपले नयाँ गठबन्धन निर्माणको अन्तरे बुझ्न सकिने भन्दै उनले अब जनताले सशक्त प्रतिवाद गर्ने समय आएको समेत बताए ।
कार्यक्रममा पार्टीका वरिष्ठ नेता तथा वरिष्ठ अधिवक्ता विष्णु भट्टराई , संगठनका अध्यक्ष हरिहर श्रेष्ठलगायतले बोलेका थिए भने पूर्व प्रहरीहरूलाई अध्यक्ष थापाले सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका थिए ।