काठमाडौँ । कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तारालामा तामाङले पर्याप्त विद्युत् उत्पादन हुँदा पनि किसानले त्यो अनुसारको विद्युत् प्रयोग गर्न नपाएको गुनासो गरेका छन् ।
आजको प्रतिनिधि सभा बैठकमा सांसद तामाङले कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा विद्युत्को भोल्टेज कम हुँदा किसानहरूलाई समस्या भइरहेको बताएका हुन् ।
‘यो समयमा विद्युत्को उत्पादनमा समस्या छैन । कञ्चनपुर जिल्लाको दक्षिणी बेल्टमा किसानहरू सिचाइको बेला विद्युत्को पावर कमिले गर्दा समस्या झेलिरहेका छन् ’उनले भने, ‘गर्मीको समयमा विद्युत्को आपूर्ति कमी भएको हुँदा निकै समस्या भइरहेको छ ।’
पुनर्वासमा स्वस्टेसन निर्माण कार्यमा पनि तीव्रता नहुँदा आम नागरिकहरूलाई समस्या भइरहेको उनको भनाइ थियो । उनले वैकल्पिक माध्यमबाट भएपनि पुर्नवास, बेलौरी, लालझाडी र बेलडाडीमा विद्युत्को सहज आपूर्ति गर्न सरकारसँग माग गरेका थिए ।
सांसद तामाङले दक्षिण बेल्डको समस्याको लागि निरन्तर संसद्मा कुरा उठाइरहेका छन् । यस अघि बाढीबाट प्रभावितहरूको समस्या समाधान गर्न पनि उनले माग गरेका थिए । सांसद तामाङले उपप्रधानमन्त्री समेत रहेका अर्थमन्त्री विष्णु पौडेललाई ज्ञापन पत्र बुझाउँदै कञ्चनपुरको दिगो समस्या समाधान गर्न समेत आग्रह गरेका छन् ।