काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले चोभारको पुष्प तथा फलफूलको थोक बजारको निर्माण दशैँसम्म पूरा गर्न निर्देशन दिएका छन् ।
शुक्रवार काठमाडौँको चोभार स्थित निर्माणाधीन पुष्प तथा फलफूलको थोक बजारको निरीक्षण गर्न पुगेका मन्त्री अधिकारीले यस्तो निर्देशन दिएका हुन् । उनले बजार निर्माण कम्पनीले निर्माण गर्न बाँकी काम तत्काल पूरा गर्न निर्देशन दिए ।
मन्त्री अधिकारीले तोकिएको समय सीमाभित्र निर्माण कम्पनीले निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने बताए । उनले सम्झौता अनुसार काम नसकिए कानून अनुसार कारबाही हुने संकेत गरे । उनले विगतमा के भयो भन्दा पनि अब दशैँ भन्दा अघि भवन सरकारलाई हस्तान्तरण हुनुपर्ने बताए ।
उनले विगतमा के भयो भन्दा पनि अब बाँकी काम तत्काल हुनु पर्नेमा जोड दिए । उनले पुष्प तथा फलफूल थोक बजार तत्काल सञ्चालनमा ल्याउन आवश्यक रहेको भन्दै कृषि मन्त्रालयले त्यसका लागि आवश्यक सहजिकरण गर्नका तयार रहेको बताए ।
उनले भने, ‘मन्त्रालयको तर्फबाट हेर्छौँ । चाँडो भन्दा चाँडो भवन हस्तान्तरण हुनुपर्छ । अब ढिला हुँदैन भन्ने विश्वासमा जाऔँ । विगतमा के भयो नगरौँ । आगामी दिन दशैँसम्म भवन उद्घाटन गर्नुपर्छ । हामी कोही हल्लाको पछाडि नलागौँ । कृषि मन्त्रालयको जमिन हो । मन्त्रालयले आफ्नो मन्त्रालय अन्तर्गत केका लागि विगतमा ठेक्का लगाएको थियो । त्यही अनुसार काम हुन्छ ।’