काठमाडौँ । बागमती प्रदेशका आधा दर्जन प्रादेशिक संरचना नेतृत्वविहीन अवस्थामा छन् ।
प्रदेश नीति तथा योजना आयोग, प्रदेश लोक सेवा आयोग, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश खेलकुद विकास परिषद् र प्रदेश दुग्ध विकास बोर्ड नेतृत्वविहीन बनेका हुन् । राजनीतिक नियुक्ति हुने यी पदमा सत्तारुढ दलबीच भागबन्डाको विषयमा छलफल नहुँदा कार्यकारी प्रमुख नियुक्ति प्रक्रिया नै अगाडि बढेको छैन ।
तत्कालीन शालिकराम जम्कट्टेल नेतृत्वको सरकार परिवर्तन भएसँगै रिक्त रहेको प्रदेश योजना आयोग उपाध्यक्षमा नयाँ सरकारले नियुक्ति गर्न सकेको छैन । फागुनदेखि प्रदेश लोक सेवा आयोग पनि अध्यक्षविहीन छ । आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले उमेर हदका कारण अवकाश लिएसँगै अध्यक्ष पद रिक्त भएको हो ।
आयोगको अध्यक्ष नियुक्ति नहुँदा कर्मचारी व्यवस्थापन, नियुक्ति र बढुवा प्रक्रिया प्रभावित भएको छ । गत वैशाख ६ देखि प्रदेश दुग्ध विकास बोर्ड नेतृत्वविहीन अवस्थामा छ । तत्कालीन उपाध्यक्ष टीकाबल्लभ सापकोटाको उपचारका क्रममा निधन भएपछि उक्त पद रिक्त भएको हो ।
असार २४ देखि प्रदेश खेलकुद विकास परिषद् नेतृत्वविहीन अवस्थामा छ । तत्कालीन सदस्यसचिव सूर्यलाल भण्डारीको ५ वर्षे कार्यकाल असार २३ गते सकिएपछि परिषद् नेतृत्वविहीन भएको हो । साउन १५ देखि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पद रिक्त छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रजिस्ट्रार र संयोजक पदसमेत रिक्त छन् । ४ वर्षे कार्यकाल पूरा गरी उपकुलपति डा. विश्वराज जोशी बिदा भएपछि उक्त पद रिक्त भएको हो । उनीसँगै भदौ १४ मा प्रतिष्ठानका रजिस्ट्रार राजेश प्रसाईँ र संयोजक चिरञ्जीवी चुँडाल पनि कार्यकाल पूरा गरी बिदा भइसकेका छन् । ती पद रिक्त हुँदा प्रतिष्ठानको प्रशासनिक कार्य सञ्चालन शिक्षाध्यक्षको भरमा चल्दै आएको छ ।