काठमाडौँ । बिमा क्षेत्रमा पनि आउँदो साउन १ देखि नेपाल वित्तीय प्रतिवेदन मान-१७ (एनएफआरएस-१७) पूर्ण रूपमा कार्यान्वयनमा आउने भएपछि त्यसका लागि तयारी व्यापक बनाइएको छ । सोही क्रममा काठमाडौंमा पनि सरोकारवालाहरूसँग विभिन्न छलफल कार्यक्रमहरू भएका छन् ।
बुधबार नेपाल बिमा प्राधिकरणको आयोजनामा एनएफआरएस-१७ कार्यान्वयनका लागि आवश्यक तयारीलगायतका विषयमा लेखासम्बन्धी नियामक निकाय तथा सरोकारवालाहरूसँग छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बिमा क्षेत्रमा पूर्णरूपमा कार्यान्वयनमा आउन लागेको एनएफआरएस-१७ को सम्बन्धमा बिमा कम्पनीहरूले गर्नुपर्ने तयारी, लेखासम्बन्धी नियामक निकायको भूमिका, जनशक्ति तथा नवीनतम प्रविधिको प्रयोगलगायत विषयमा सरोकारवालाहरूसँग अन्तरक्रिया गरिएको प्राधिकरणले जनाएको छ ।
कार्यक्रममा नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा कम्पनीहरूले आगामी साउनदेखि एनएफआरएस–१७ कार्यान्वयन गर्नुपर्ने भएकाले अहिलेदेखि नै यसलाई गम्भिरतापूर्वक लिई आवश्यक तयारी गर्नुपर्ने बताएका छन् ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) अध्यक्ष प्रवीणकुमार झाले बिमा क्षेत्रमा एनएफआरएस-१७ कार्यान्वयनका लागि आईक्यानबाट सूचना आदानप्रदानलगायत पूर्णरूपमा सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।
लेखा परीक्षणमान बोर्डका अध्यक्ष अनुपकुमार श्रेष्ठले लेखा परीक्षणको गुणस्तर अभिवृद्धिका लागि विद्यमान जनशक्तिको क्षमता अभिवृद्धि र गुणस्तरीय जनशक्तिलाई आकर्षण गर्नेतर्फ ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था, लेखा परीक्षणमान बोर्ड र लेखामान बोर्डका पदाधिकारी, नेपाल बीमक संघ र नेपाल जीवन बीमक संघका अध्यक्ष तथा जीवन बिमा कम्पनी, निर्जीवन बिमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा वित्त विभाग प्रमुखहरूको सहभागिता रहेको थियो ।