काठमाडौँ। गणपूरक संख्या (कोरम) नपुगेर प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठक स्थगित भएको छ ।
समिति सचिवालयले सोमबारका लागि बैठक राखेको थियो। छलफलको विषय थियो । सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गर्ने। तर, कोरम पुग्न नसकेपछि समितिको बैठक नै बस्न सकेन ।
समिति सभापति सन्तोष चालिसे ‘कोरम नपुग्ने समस्याले हैरान भएको’ बताए। भोलि अर्को बैठक राखेको उनको भनाई छ ।
२३ सदस्यीय अर्थ समितिको बैठक बस्नका लागि ५१ प्रतिशत सदस्य अर्थात् १२ जना उपस्थिति हुनुपर्ने व्यवस्था छ । ५१ प्रतिशत सदस्य उपस्थित नहुँदा यसअघि पनि अर्थ समितिको बैठक पटक-पटक स्थगित भएका छन् ।