काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौँका विभिन्न स्थानमा भइरहेको पानी चुहावट नियन्त्रण गर्न सरोकार निकायलाई निर्देशन दिएका छन् ।
काठमाडौँका विभिन्न स्थानमा पछिल्लो समय पानी चुहावट भएर खेर गइरहेको जानकारी प्राप्त भएपछि मन्त्री यादवले शुक्रबार पानी चुहावट भइरहेका ठाउँमा तत्काल पाइप मर्मत गरी नियमित सेवा सञ्चालन गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।
मन्त्री यादवले भने, “पाइप फुटेर पानी खेर गइरहेकाले तत्काल समस्या समाधान गरी नागरिकलाई नियमित र स्वच्छ पानी वितरण गर्नुहोला ।”
मन्त्री यादवले खानेपानीका पाइप फुट्दा दिसा पिसाब तथा कीटाणुसहित फोहर मिसिएर अस्वस्थ कर पानी आपूर्ति हुनसक्ने भएकाले त्यसतर्फ सचेत रही शुद्ध खानेपानी आपूर्ति गराउन निर्देशन दिए । उनले मेलम्चीको पानीलाई शुद्धीकरण गरेर काठमाडौँका नागरिकलाई स्वच्छ खानेपानी वितरण गर्नुपर्नेमा जोड दिए ।
काठमाडौँ उपत्यकामा पानी चुहावट भएको जनगुनासो आएपछि मन्त्री यादवले शुक्रबार नै काठमाडौँ उपत्यकाको ईन्द्रचौक, जनबहाल न्युरोड, अशनलगायत क्षेत्रमा स्थलगत अनुगमन गरेका थिए ।
काठमाडौँ उपत्यकामा सहज रूपमा मेलम्चीको पानी वितरण गर्न अधिकांश स्थानमा खानेपानीका नयाँ पाइप बिछ्याउने काम भइरहेको छ ।