काठमाडौँ । दैलेखको ठाटीकाँध गाउँपालिकामा धारिलो हतियार प्रहारबाट घाइते भएका तीन महिलालाई नेपाली सेनाले हवाई उद्धार गरी उपचारका लागि सुर्खेत पुर्याएको छ।
नेपाली सेनाका अनुसार कात्तिक २२ गते ठाटीकाँध गाउँपालिका-४ मा भएको आक्रमणमा घाइते भएका स्थानीय तीन महिलालाई थप उपचारका लागि सेनाको हवाई साधनमार्फत प्रदेश अस्पताल, सुर्खेत लगिएको हो।
घटनापछि घाइते महिलाहरूलाई थप उपचार आवश्यक भएकाले हवाई माध्यमबाट अस्पताल पुर्याइएको सेनाले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ।
यसअघि ठाटीकाँध गाउँपालिका-४ धनकोटमा एक व्यक्तिले घरमै पुगेर धारिलो हतियार प्रहार गर्दा एकै परिवारका चार महिला घाइते भएका थिए।
प्रहरीका अनुसार ३७ वर्षीय बमबहादुर रावतले धारिलो हतियार प्रहार गरेको आरोप छ। घटनामा ४५ वर्षीया बीमा मगर, २५ वर्षीया महेसरा पुन, २३ वर्षीया तिला पुन र २० वर्षीया लक्ष्मी पुन घाइते भएका थिए।





