काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सरकारमाथि तीखो आक्रोश पोख्दै आफूलाई हराउने प्रयास भइरहेको आरोप लगाएपछि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले काउन्टर स्ट्याटस लेख्दै प्रतिक्रिया दिएका छन्।
बालेनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई लक्ष्य गर्दै ‘प्रधानमन्त्रीज्यू, मलाई हराउने ताकमा, देशलाई चैँ नडुबाउनु होला’ भन्दै आक्रोश व्यक्त गरेका थिए। उनले सरकार महानगरलाई कमजोर बनाउने योजनामा लागेको आरोपसमेत लगाए।
सम्बन्धित समाचार: ‘प्रधानमन्त्रीज्यु मलाई हराउने ताकमा, देशलाई चैँ नडुबाउनु होला’ : बालेन साह
उनको स्ट्याटसप्रति प्रतिक्रिया जनाउँदै पोखरेलले कार्यकारी अधिकृत नपठाएको आरोप लगाउने बालेनले ‘पछिल्लो समय कार्यकारी अधिकृत महानगरमा जान नमान्नुको कारण’ बुझ्न आवश्यक रहेको टिप्पणी गरेका छन्।
उनले स्ट्याटसमा लेखेका छन्, ‘काठमाडौँ महानगरका मेयर बालेनले सरकारले कार्यकारी अधिकृत नपठाएको आरोप लगाउँदै असन्तुष्टि पोखेका छन्। तर, पछिल्लो समय कार्यकारी अधिकृत त्यहाँ जान किन मानिरहेका छैनन् भन्ने कुरामा उनको ध्यान पुगेको देखिँदैन।’
उनले कार्यकारी अधिकृत जान नमान्नुको कारण जे भए पनि सरकारले ‘विशेष व्यवस्था गरेर भए पनि अविलम्ब कार्यकारी अधिकृत पठाउनुपर्ने’ बताएका छन्।
यसअघि, बालेनले ‘प्रधानमन्त्री भोको पेट मारेर मलाई हराउने ताकमा हुनुहुन्छ’ भन्दै सरकारमाथि गम्भीर आरोप लगाएका थिए। उनले आफू मदन भण्डारीकै सपना पूरा गर्न लागेको बताउँदै, सरकार महानगरलाई असहयोग गरिरहेको दाबी गरेका थिए।
महानगर र सरकारबीच कार्यकारी अधिकृत नियुक्ति तथा महानगरको अधिकारसम्बन्धी विषयमा देखिएको विवाद क्रमशः बढ्दै गएको देखिन्छ।