काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा मोरङ उर्लाबारी नगरपालिका-५ पथरी घर भएका हाल ललितपुर महानगरपालिका-२७ सुना कोठी बस्ने ४६ वर्षीया भूमिका देवान र बाँके डुडुवा गाउँपालिका-५ कमदी घर भई हाल काठमाडौँ महानगरपालिका-१४ बस्ने ५२ वर्षीय पशुपति खत्री रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ मध्ये भूमिकाले पोल्याण्ड पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ११ लाख रुपैयाँ र पशुपतिले १ जना पीडितबाट २ लाख २३ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।
भूमिका र पशुपति रकम लिइ सम्पर्क विहित भएपछि पीडितहरू दिएको उक्त उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भूमिकालाई ललितपुर सुन कोठीबाट आइतबार र पशुपतिलाई काठमाडौँ सतुंगलबाट शनिबार पक्राउ गरेको हो ।
उनीहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौँ पठाइएको छ ।







