काठमाडौँ । आवासीय चिकित्सकको आत्महत्या प्रयाससँग सम्बन्धित घटनामा केयू डीन कार्यालयले स्वतन्त्र छानबिन समिति बनाएर ५ दिनभित्र प्रतिवेदन पेस गर्न निर्णय गरेको छ ।
बुधबार बेलुका बसेको ‘स्कुल अफ मेडिकल साईन्सेज’ को निर्णयले पाँच दिनको समय तोक्दै उपकुलपतिलाई प्रतिवेदन बुझाउने सँगै निलम्बनमा परेका कुनै पनि चिकित्सकलाई नियमित हैसियतको काम कारबाही गर्न नदिने जनाएको छ ।
‘समितिले प्रतिवेदन पेश नगर्दाको अवधि सम्मका लागि मानसिक विभागमा कार्यरत शिक्षकहरूलाई शैक्षिक, चिकित्सकीय र एशोसिएट डीनको हैसियतमा काम काजमा संलग्न नगर्ने र नगराउने,’ सूचनामा भनिएको छ ।
धुलिखेल अस्पतालका आवासीय चिकित्सकको आत्महत्या प्रयाससँग सम्बन्धित घटनालाई लिएर नेपाल मेडिकल काउन्सिलले चार जना चिकित्सकलाई सात दिनका लागि निलम्बन गरेसँगै डीन कार्यालयले स्वतन्त्र छानबिन समिति बनाएर पाँच दिनभित्र प्रतिवेदन पेस गर्न निर्णय गरेको हो ।
काउन्सिलले आइतबार निलम्बित चार चिकित्सकसँग बयान लिइसकेको छ । तर, कारबाहीबारे ठोस निर्णय भएको छैन ।
काउन्सिल स्रोतका अनुसार आवासीय चिकित्सकले उपचारको कागजपत्र मगाइएको छ ।








