नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीमा वायु प्रदूषणको स्तर अत्यधिक बढेपछि सरकारले प्रदूषण नियन्त्रणका लागि थप कडा प्रतिबन्ध लागू गरेको छ ।
वायु प्रदूषण नियन्त्रणसम्बन्धी वर्गीकृत कार्ययोजना (ग्रेडेड रेस्पोन्स एक्शन प्लान–ग्रयाप) को तेस्रो चरण अर्थात् स्टेज–३ शुक्रवारदेखि तत्काल लागू गरिएको हो । दिल्ली तथा आसपासका राष्ट्रिय राजधानी क्षेत्र (एनसीआर) का जिल्लामा यो व्यवस्था लागू गरिएको छ । वायु गुणस्तर व्यवस्थापन आयोग (सीएक्यूएम) का अनुसार प्रतिकूल मौसमी अवस्थाका कारण प्रदूषित हावा फैलिन नसक्दा नोभेम्बर ६ मा दिल्लीको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ३८२ पुगेको थियो । यो स्तर ‘अत्यन्त खराब’ श्रेणीमा पर्छ । नयाँ प्रतिवन्धअनुसार अत्यावश्यकबाहेकका निर्माण तथा भत्काउने काममा पूर्ण रोक लगाइएको छ । यसअन्तर्गत जग खन्ने, माटो भर्ने, ड्रिलिङ गर्ने, पाइलिङ गर्ने, इँटाको काम, सडक निर्माण तथा ठूला मर्मतसम्भारका कामसमेत रोकिएका छन् ।
त्यस्तै, दिल्ली र आसपासका एनसीआर जिल्लामा बीएस–३ मापदण्डका पेट्रोल तथा बीएस–४ मापदण्डका डिजेलबाट चल्ने चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा पनि प्रतिबन्ध लगाइएको छ । बीएस अर्थात् भारत स्टेज सवारीसाधनबाट उत्सर्जन हुने प्रदूषण नियन्त्रणका लागि सरकारले निर्धारण गरेको मापदण्ड हो । यसैबीच, स्वास्थ्य विशेषज्ञहरूले सर्वसाधारणलाई बिहान सबेरै र सूर्यास्तपछि बाहिर निस्केर शारीरिक गतिविधि नगर्न सुझाव दिएका छन् ।
लामो समयसम्म वा अत्यधिक शारीरिक परिश्रम नगर्न तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिलाई बाहिर कुनै पनि शारीरिक गतिविधि नगर्न आग्रह गरिएको छ । दिल्ली विश्वकै सबैभन्दा बढी वायु प्रदूषण हुने सहरमध्ये एक हो । औद्योगिक गतिविधि, सवारीसाधनबाट निस्कने धुवाँ तथा अनियन्त्रित निर्माण कार्यलाई यहाँको वायु प्रदूषणको प्रमुख कारण मानिन्छ ।
विशेषगरी हिउँद शुरु हुनुअघि दिल्लीको वायु गुणस्तर खस्किएर स्वास्थ्यका लागि जोखिमपूर्ण अवस्थामा पुग्ने समस्या वर्षौंदेखि देखिँदै आएको छ ।





