काठमाडौँ । विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ बमोजिम कसुर गर्ने कार्यमा संलग्न रहेको अभियोग दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मोरङ रंगेली नगरपालिका-७ घर भएका हाल काठमाडौँ तारकेश्वर नगरपालिका-९ बस्ने ४५ वर्षीय विकास भारती र गोरखा अजिर कोट गाउँपालिका-३ घर भई काठमाडौँ तारकेश्वर नगरपालिका-४ बस्ने ३७ वर्षीय बाबुराम अधिकारी रहेका छन् ।
बुद्ध एयरको हवाई टिकट खरिद बिक्रीको लागि अनलाइन कम्प्युटर प्रणालीमा अनाधिकृत रूपमा पहुँच पुर्याई अवैध लाभ लिने कार्यमा संलग्न रहेको उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले गौशाला बत्तिस पुतलीबाट आइतबार पक्राउ गरेको हो ।
उनीहरूलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।







