काठमाडौँ । बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास) राष्ट्रहरूको तेस्रो कृषि मन्त्रीस्तरीय बैठक नेपालको राजधानी काठमाडौँमा सम्पन्न भएको छ। नेपालका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको अध्यक्षतामा भएको यो बैठकमा क्षेत्रीय कृषि, पशुपन्छी र मत्स्यपालन क्षेत्रको सहकार्यलाई प्रवर्द्धन गर्ने तथा यस क्षेत्रका मुख्य चुनौतीहरूको समाधान गर्ने विषयमा छलफल भएको छ।
बैठकमा भारत र भुटानका मन्त्रीहरूको भौतिक उपस्थिति रहेको थियो भने बङ्गलादेश, म्यानमार र श्रीलङ्काका मन्त्रीहरूले भर्चुअल माध्यमबाट सहभागिता जनाएका थिए। थाइल्याण्डका उप स्थायी सचिवले पनि बैठकमा भाग लिएका थिए। यसअघि २६ चैत्रमा मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माको अध्यक्षतामा भएको उच्च अधिकारीहरूको बैठकले तयार पारेका एजेन्डाहरूलाई मन्त्रीस्तरीय बैठकले अनुमोदन गरेको छ।
क्षेत्रीय सहकार्यका महत्त्वपूर्ण निर्णयहरू
बैठकले बिमस्टेक क्षेत्रमा कृषि विकासका लागि ठोस कदमहरू चालेको छ। क्षेत्रीय खाद्य भण्डार र बीउ भण्डार स्थापना गर्ने, कृषि व्यापार प्रवर्द्धन गर्ने र सदस्य राष्ट्रहरूको क्षमता विकासमा विशेष पहल गर्ने विषयमा सहमति भएको छ। भारतले प्रस्तुत गरेको बिमस्टेक सेन्टर अफ एक्सिलेन्स र डिजिटल सार्वजनिक पूर्वाधारको अवधारणालाई पनि समर्थन प्राप्त भएको छ। साथै, पशुपन्छी र मत्स्यपालन क्षेत्रमा सहकार्यका लागि नयाँ कार्ययोजनालाई अनुमोदन गरिएको छ।
बिमस्टेक कृषि सहकार्यको कार्ययोजना (२०२३–२०२७) को प्रगति समीक्षा गर्दै आगामी लक्ष्य र योजनाहरूमा छलफल भएको थियो। नेपालमा सन् २०२५ को जुन महिनामा पर्वतीय कृषि प्रविधि कार्यशाला र श्रीलङ्कामा जलवायु स्मार्ट कृषि केन्द्र स्थापनाको प्रस्तावमाथि पनि छलफल भएको छ। श्रीलङ्काले सन् २०२७ मा चौथो मन्त्रीस्तरीय बैठक आयोजना गर्ने प्रतिबद्धता जनाएको छ।
नेपाल–भारत र नेपाल–भुटानबीच द्विपक्षीय सम्झौता
बैठकको अवसरमा नेपाल र भारतबीच कृषि अनुसन्धान, प्रविधि विकास, बाली उत्पादन, व्यापार, संरक्षण, सिँचाइ, र प्राङ्गारिक खेतीमा सहकार्यका लागि मन्त्रीस्तरीय समझदारीपत्रमा हस्ताक्षर भएको छ। भारतका कृषि मन्त्री शिवराज सिंह चौहान र नेपालका मन्त्री रामनाथ अधिकारीले हस्ताक्षर गरेका हुन्। यस्तै, नेपाल र भुटानबीच पनि प्राङ्गारिक खेती, जलवायुमैत्री कृषि र आनुवंशिक स्रोत आदान–प्रदानमा सहकार्यका लागि छलफल भएको मन्त्रालयकी सहसचिव एवं प्रवक्ता डा. मतिना जोशी वैद्यले जनाएकी छिन् ।
यो बैठकले बिमस्टेक राष्ट्रहरूबीच ज्ञान, प्रविधि र उत्कृष्ट अभ्यासको आदान–प्रदानलाई बलियो बनाउँदै कृषक र सरोकारवालाहरूलाई लाभ पुर्याउने आधार तयार गरेको छ।