काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको जिल्ला कार्यसमिति तथा जिल्ला विकास समिति दाङका पूर्वसभापति तीर्थराज ज्ञवाली ‘चैतु’ को निधनप्रति दुःख व्यक्त गरेका छन्। सभापति देउवाले शोक विज्ञप्तिमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
नेता ज्ञवालीको आज निधन भएको हो । काँग्रेसले उनले संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको भूमिका पार्टीमा सदा स्मरणीय रहिरहने उल्लेख गरेको छ । लामो समयसम्म कांग्रेसको विभिन्न पदीय जिम्मेवारीमा रहेर ज्ञवालीले कार्य गरेका थिए । उनको निधनबाट पार्टीले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको काँग्रेसले जनाएको छ ।
विसं २०२३ देखि राजनीतिमा प्रवेश गरेका स्व ज्ञवालीले काँग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । विसं २००८ जेठमा जन्मिएका उनले नेपालमा प्रजातन्त्र स्थापना र पुन:स्थापनाको संघर्ष र आन्दोलनका क्रममा करिब साढे चार वर्ष जेल जीवन बिताएका थिए ।
तत्कालीन पञ्चायती व्यवस्थाले उनको सर्वस्वहरण गर्नुका साथै आजीवन कारावासको सजायसमेत गरेको थियो ।