काठमाडौँ । सूचना प्रविधिको सावधानीपूर्वक प्रयोग गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
राष्ट्रिय महिला आयोगले आज आयोजना गरेको ‘विद्युतीय माध्यमबाट हुने लैंगीक हिंसा न्यूनीकरण’ विषयक अन्तरक्रियामा सूचना प्रविधिका कारण धेरै आर्थिक तथा मानसिक तनाव भोग्नुपर्ने भएकाले सावधानीपूर्वक प्रयोग गर्नुपर्नेमा जोड दिइएको हो ।
प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका प्रहरी नायव उपरीक्षक सुनिलकुमार वरनवालले सूचना प्रविधिको प्रयोग गर्दा ८५ प्रतिशत महिला तथा बालबालिका पीडित हुने गरेका, हिंसा तथा घृणास्पद अभिव्यक्ति धेरै भोग्नुपरेको बताएका हुन् ।
उनले ‘फेक प्रोफाइल’ बनाउने, ‘साइबर ग्रुमिङ’, ‘म्यासेज’ र सामाजिक सञ्जालका विभिन्न माध्यमबाट धेरै हिंसा भोग्नु परिरहेको र सूचना प्रविधिको प्रयोग गर्दा सुरक्षासम्बन्धी धेरै सावधानी अपनाउनुपर्ने सुझाव दिए ।
प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका प्रहरी नायव उपरीक्षक वरनवालले अपरिचित व्यक्तिले पठाएको ‘लिङ्क’ नखोल्ने, फोन नउठाउने, नचिनेको मान्छेलाई साथी नबनाउने आदि गर्नुपर्ने बताए ।
विद्युतीय कारोबारसम्बन्धी ऐन-२०६३ ले विद्युतीय माध्यमबाट हुने हिंसाका बारेमा कानुनी उपचारको व्यवस्था गरेको भए पनि आपत्कालीन अवस्थामा त्यसको प्रयोग गर्न सकिन्छ । फेक प्रोफाइल बनाएर र साइबर ग्रुमिङ पीडितमध्ये दैनिक ६०/७० उजुरी साइबर अनुसन्धान ब्युरोमा आउने गरेका छन् ।
आयोगका कानुन अधिकृत मुना चौलागाईंले पछिल्लो समयमा अधिकांश हिंसा विद्युतीय माध्यमबाट हुने गरेका उजुरी आउने गरेका र मासिक करिब १० उजुरी विद्युतीय माध्यमबाट हुने हिंसाका भएको बताए ।
राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले सूचना प्रविधिको प्रयोगबाट धेरै महिला हिंसामा परेको र उजुरी आइरहेको हुनाले विद्युतीय अपराध न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा सरोकारवालासँग छलफल गर्न कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रममा सहभागीहरूले अपरिचित नम्बरबाट फोन, म्यासेज आउने गरेको र विद्युतीय अपराधलाई रोक्न कडाइका साथ कानुनी कारबाही हुनुपर्ने र भएको कानुन प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने सुझाव दिएका थिए ।







