काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर इद (ईद-उल-अज्हा) को शुभकामना व्यक्त गरेका छन् । उनले बकर इद (ईद-उल-अज्हा) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली एवं इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेका हुन् ।
“बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त नेपाल र नेपाली समाजका लागि बकर ईद (उल–अज्हा) लगायतका पर्वहरू कुनै समुदाय विशेषका मात्र नभएर राष्ट्रिय पर्वका रूपमा स्थापित भएका छन्,” अध्यक्ष दाहाले भनेका छन्, “हरेक चाडपर्वहरूको आफ्नो ऐतिहासिक र विशिष्ट महत्त्व हुने गर्दछ । मानव जातिले जीवन वृत्तिका क्रममा प्राप्त गरेका अनुभव, शिक्षा र ज्ञानको समुच्चय प्रक्रियाबाट नै चाडपर्वहरू विकसित र स्थापित हुँदै आएका छन् ।”
उनले आपसी सद्भावको चाडका रूपमा मनाइने यस पर्वले सबै नेपालीबीच सामाजिक एकता र सद्भाव अभिवृद्धि गर्न योगदान पुग्ने तथा राष्ट्रिय एकता, समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।







