काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली काँग्रेसले समावेशी सिद्धान्त अनुरूप संयमित र जिम्मेवार भएर राजनीति गर्ने बताएका छन् ।
आज नेपाल तामाङ संघ कोशी प्रदेशद्वारा इटहरीमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले काँग्रेसले उत्तेजनात्मक र निषेधात्मक भन्दा समावेशी, संयमित र जिम्मेवार भएर राजनीति गर्ने स्पष्ट पारे ।
महामन्त्री थापाले जातीय वा धर्मका आधारमा उत्तेजना फैलाउने र त्यसबाट लाभ लिने प्रवृत्ति कसैले गर्न नहुने बताउँदै समुदायमा समन्वय र सदभावपूर्व तरिकाले सबै एकापसमा मिलेर रहनुपर्ने धारणा राखेका छन् । उनले भने, “हाम्रो काँग्रेस मध्यमार्गी पार्टी हो । अधिकार दिने, समावेशीकरण गर्ने, चेतना फैलाउने, प्रशिक्षण दिने र आफू सुधारिने बाटोमा पार्टी अघि बढेको छ ।”
संविधान संशोधन सबैको सहमतिका आधारमा हुने स्पष्ट धारणा राख्दै महामन्त्री थापाले एमाले, माओवादीलगायत पार्टीसँग छलफल तथा नागरिक स्तरमा संवाद गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । उनले संविधान संशोधनले कुनै समुदायको अधिकार घट्ने होइन, अझ बलियो हुने बताए । “कसैलाई लाग्न सक्छ अधिकार खुम्चिन्छ, तर त्यस्तो हुँदैन । लेखिएको अधिकार अझै बढ्छ, घट्दैन”, उनले भने ।
थापाले तामाङ समुदायको योगदानको कदर गर्दै तामाङ समुदायको समुन्नतिका लागि काँग्रेसले सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो । काँग्रेस सबै जातजाति, धर्म, भाषा र समुदायलाई समेटेर अघि बढ्ने दल भएको उल्लेख गर्दै उनले भने, “काँग्रेसमा सबै अट्न सक्छन्, काँग्रेस सबैलाई अटाउने क्षमता राख्छ ।”







