स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिका-३ ठाँटीमा स्कुटर सडकबाट खसेर दुर्घटना हुँदा महिला चालकको मृत्यु भएको छ ।
आज दिउँसो २:३० बजेको समयमा राङखोला-बिरुवा सडक खण्डको बिरुवा-३ ठाँटीमा स्कुटर अनियन्त्रित भई सोही गाउँपालिकाकी ३९ वर्षीया रेवती गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिएका छन् ।
उनकाअनुसार ग२६प १३५० नम्बरको स्कुटर चालकले नियन्त्रण गुमाउँदा सडकबाट झण्डै ५० मिटर तल खसेको थियो । स्कुटरको पछाडि सवार मृतककी छोरी १६ वर्षीया गुञ्जन गुरुङ सकुशल छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जा र ट्राफिक प्रहरीको टोली घटनास्थलमा पुगेको छ । दुर्घटना भएको स्थलमा प्रहरी पुगेसँगै सडक सञ्चालन भएको छ ।
सो घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान थालेको सूचना अधिकारी अवस्थीले जानकारी दिए ।



