काठमाडौँ। ताप्लेजुङमा चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा सात जनालाई गैरआवासीय नागरिकता वितरण गरिएको छ।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले हाल विभिन्न देशमा बसोबास गर्दै आएका उक्त सङ्ख्यालाई गैरआवासीय नागरिकता वितरण गरेको हो।
जिल्ला प्रशासन कार्यालयका अनुसार गतवर्ष आर्थिक वर्ष भरमा छ जनालाई गैर आवासीय नागरिकता वितरण भएको थियो। यसवर्ष जेठ मसान्तभित्रै सात जनालाई गैर आवासीय र सोही सङ्ख्या अर्थात् सात जनालाई नै अंगीकृत नागरिकता वितरण गरिएको जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार गत आवमा ६ वटा र यस आवको जेठ मसान्तसम्ममा ७ वटा गरी गैरआवासीय नेपाली नागरिकता जम्मा १३ वटा गैरआवासिय नागरिकता वितरण भएको हो । यता गैरआवासीय, अङ्गीकृतबाहेक चालु आवको जेठ सम्ममा तीन हजार १७८ जनालाई जिल्ला प्रशासन कार्यालयले नागरिकता वितरण गरेको छ। वंशजका आधारमा सो सङ्ख्यामा नागरिकता वितरण गरिएको हो। यस अवधिमा दुई हजार ५२३ जनालाई नागरिकताको प्रतिलिपि प्रदान गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।







