काठमाडौँ । ललितपुरको हरिहरभवनस्थित कृषि सूचना तथा प्रशिक्षण केन्द्रले आयोजना गरेको ७५ दिने कृषक पाठशाला सहजकर्ताको एकीकृत शत्रु जीव व्यवस्थापन प्रशिक्षक प्रशिक्षण तालिम (आईपीएम एमटीओटी) काभ्रेको खोपासीस्थित रेशम विकास केन्द्रमा सम्पन्न भएको छ।
तालिम २०८१ चैत्र २९ देखि २०८२ असार ९ गतेसम्म गोलभेँडाको बाली अवधिभर सञ्चालित थियो। कृषि विभागको समन्वयमा कार्य प्रक्रिया, पाठ्यक्रम र विज्ञ सूची निर्माण गरिएको यो तालिममा संघीय निकायबाट ३ जना, प्रादेशिक निकायबाट ८ जना र स्थानीय तहबाट ७ जना गरी जम्मा १८ जना कृषि प्राविधिक सहभागी थिए।
लामो समयदेखि बाली अवधिभरको एकीकृत शत्रु जीव व्यवस्थापन-कृषक पाठशाला (आईपीएम-एफएफएस) तालिम सञ्चालन नभएकोले यो तालिम तीनै तहका कृषि प्राविधिकका लागि अत्यावश्यक रहेको केन्द्रले जनाएको छ । तालिमको उद्देश्य कृषि क्षेत्रका अधिकृत कर्मचारीलाई एकीकृत शत्रु जीव व्यवस्थापनको प्रशिक्षण प्रदान गरी स्वस्थ बाली उत्पादनमा सक्षम मास्टर प्रशिक्षक तयार गर्नु र कृषक स्तरमा आईपीएम-एफएफएस सञ्चालन गर्न सहजीकरण गर्नु रहेको केन्द्रको भनाई छ ।

तालिमले जैविक विधिको प्रयोग र रासायनिक विषादीको सुरक्षित प्रयोग, मानव स्वास्थ्य र वातावरण संरक्षणमा जोड दिएको छ। जीवनाशक विषादी ऐन, २०७६, जीवनाशक विषादी नियमावली, २०८१, खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ र नेपाल असल कृषि अभ्यास कार्यान्वयन निर्देशिका, २०७५ को कार्यान्वयनमा यो तालिमले सहयोग पुर्याउनेछ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले फलफूल र तरकारीमा अधिकतम विषादी अवशेषको मापदण्ड तोकेको सन्दर्भमा, तालिमका सहभागीले किसानका खेतबारीमा आईपीएम-कृषक पाठशाला सञ्चालन गरी स्वच्छ र सुरक्षित कृषि उत्पादनमा योगदान दिने अपेक्षा गरिएको केन्द्र प्रमुख डा. मतिना जोशी वैद्यले जानकारी दिइन् ।
यी १८ मास्टर प्रशिक्षकले आफ्नो कार्यक्षेत्रमा कृषक समुदायसँग सहकार्य गरी विभिन्न बालीमा आईपीएम सिद्धान्त अवलम्बन गर्नेछन्। यसले विषादीको दुरुपयोग न्यूनीकरण, उपभोक्ता स्वास्थ्य संरक्षण र वातावरणमैत्री कृषि प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको प्रमुख डा. वैद्यको भनाई छ ।







