काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले प्रचलित कानुन विपरीत नहुने र सम्बन्धित निकाय नै जवाफदेही हुने गरी जगदुल्ला जलविद्युत आयोजना निर्माणको आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।
सिंहदरवारमा बुधबार बसेको समिति बैठकले जगदुल्ला जलविद्युत आयोजनाको निर्माणसम्बन्धी उजुरीउपर छलफल गर्दै कानुन विपरीत नहुने गरी आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिइएको समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।
उनले जगदुल्ला जलविद्युतको विषयको मुद्दा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले यस विषयमा थप छलफल अघि बढाउनुपर्ने आवश्यकता नदेखिएको जिकिर गरे। विभिन्न कारणले जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का प्रक्रिया दुई महिनादेखि रोकिएको जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिए ।
डोल्पामा निर्माण हुन लागेको १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्काका विषयमा सिनो हाइड्रोले गरेको उजुरीमा विभिन्न निकायले अनुसन्धान समेत गरिरहेको छ ।







