काठमाडौँ । पूर्व सुरक्षा उच्च अधिकृतहरूले विद्यमान अवस्था लम्बिए मुलुकमा सुरक्षा चुनौती थपिने चिन्ता व्यक्त गरेका छन् ।
यथाशीघ्र समस्याको सम्बोधन हुने गरी राजनीतिक निकास दिनुपर्नेमा उनीहरूको जोड छ ।
६ जना पूर्व सुरक्षा प्रमुखले बिहीबार साँझ एक संयुक्त विज्ञप्ति जारी गर्दै पछिल्लो आन्दोलनका क्रममा क्षतिग्रस्त प्रहरी इकाईहरूलाई सुदृढ गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका हुन् ।
पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहरा, पूर्व अतिरिक्त महानिरीक्षक विनोद सिंह, सहायक प्रहरी अतिरिक्त महानिरीक्षक नारायण बाबु थापा, पूर्व अतिरिक्त महानिरीक्षक रमेश कुमार श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्मा र सुरक्षा-न्याय अध्यक्ष परिषद् केन्द्रका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक सुरेन्द्र बहादुर शाहले कठिन अवस्थामा संवेदनशीलता, दूरदर्शिता अपनाउन अपिल गरेका छन् ।
‘मुलुक तरल अवस्थामा पुगेको यस संवेदनशील घडीमा नागरिकको जीउ धन र सार्वजनिक सम्पत्तिको सुरक्षा हामी सबैको जिम्मेवारी हो । तर, सरकारबिनाको यो अन्योलको अवस्था लामो समयसम्म रहिरहे अवाञ्छित समूहहरूलाई चलखेल गर्ने अवसर प्राप्त भइ सुरक्षा चुनौती थपिने सम्भावना रहन्छ,’ विज्ञप्तिमा छ ।
आन्दोलन नियन्त्रणका क्रममा न्यूनतम बल प्रयोगको सिद्धान्त, नागरिकको जीवन रक्षा र मानवअधिकारलाई प्राथमिकता दिँदै संयतता अपनाउन सुरक्षाकर्मीलाई उनीहरूको आग्रह छ ।
यस्तै प्रहरीको लामो अनुसन्धानपछि पक्राउ परेका कैदी बन्दी कारागारबाट भागेकाले पनि सुरक्षा चुनौती थपिने पूर्व सुरक्षा प्रमुखहरूको चिन्ता छ ।
‘देशभरका निजी सम्पत्ति तथा सिंहदरबार, राष्ट्रपति भवन, प्रहरी कार्यालयहरूको भवनहरूलगायत सार्वजनिक संरचनामा भएको ठूलो क्षतिसँगै करिब १३००० कैदी बन्दी कारागारबाट भाग्नु गम्भीर सुरक्षा चुनौती बनेको छ । प्रहरीको लामो अनुसन्धान र मिहिनेतपछि पक्राउ परेका अपराधी समाजमा फर्कनुले नागरिकमा भय बढाएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
जेन जेड युवाहरूको आह्वानमा भदौ २३ र २४ गते काठमाडौँसहित देशका विभिन्न सहरमा भएको प्रदर्शनमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पूर्व सुरक्षा प्रमुखहरूले घाइतेको नि: शुल्क उपचारको व्यवस्था गर्न माग गरेको छ ।









