काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकारहरूको पेसागत र भौतिक सुरक्षाका सम्बन्धमा राज्यका सम्बन्धित निकायसँग छलफल गर्ने बताएका छन् ।
नेपाल पत्रकार महासंघ, नेपाल टेलिभिजन प्रतिष्ठान शाखाद्वारा आज आयोजित हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहमा मन्त्री खरेलले पत्रकारहरूको सुरक्षा व्यवस्थाका विषयमा गृहमन्त्रीलगायत सम्बन्धित निकायसँग छलफल गर्ने बताएका हुन् ।
उनले गत चैत १५ गते काठमाडौँ तीनकुनेमा भएको प्रदर्शनको समाचार संकलन गर्ने क्रममा पत्रकार सुरेश रजकको निधन भएको घटनाबारे छानबिन वा उचित न्यायका लागि पहल गर्ने बताए । रजकसँगै विभिन्न आन्दोलन एवं प्रदर्शनका क्रममा मृत्यु वा घाइते भएका पत्रकारका विषयमा समेत छानबिन गर्ने उनको भनाइ थियो ।
यस वर्षको हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कारबाट एभिन्यूज टेलिभिजनका क्यामरापर्शन रजकलाई मरणोपरान्त प्रदान गरेको छ । मन्त्री खरेलले यस पुरस्कारले रजकसँगै स्व पत्रकारहरू हेम-सुनिलप्रति श्रद्धाञ्जली अर्पण गरे ।
“सम्मानले परिवारलाई धैर्यता र साहस दिन्छ, स्व पत्रकार रजकको न्यायका लागि मन्त्रालय तत्पर हुनेछ । गृहमन्त्रीसँग छलफलमा बसेर कुरा गर्नेछु । प्रधानमन्त्रीसमक्ष पनि यो कुरा पुर्याउने छु”, उनले भने, “पत्रकारको जीवन व्यवस्था परिवर्तन गर्दा होस वा सरकार परिवर्तन, प्राकृतिक वा मानव निर्मित जोखिम कुनै पनि कालखण्डमा जोखिम मोलेर काम गरिरहेका हुन्छौँ । गाँस, बास कपासको दुःख हुन्छ तर हामीले देश, राष्ट्र जनताका लागि कलम चलाइरहनुपर्ने, आवाजहरू दिइरहनुपर्छ । आफू मरेको थाहै हुँदैन, आफू अधिकारविहीन, आफू अन्यायमा परेका थाहै हुँदैन ।”
मन्त्री खरेलले सार्वजनिक सेवा प्रसारण नेपाल (पिएसबी) लाई स्वतन्त्र, व्यावसायिक र आर्थिक रूपमा आत्मनिर्भर बनाउनुपर्नेमा समेत जोड दिए । “रेडियो नेपाल र नेपाल टेलिभिजन मर्ज हुनु पिएसबी हुनु हो भन्नेमा ढुक्क नहोऔँ । जिम्मेवार, जवाफदेही, स्वतन्त्र र व्यावसायिक पिएसबी बनाउँछौँ भन्नेमा मेरो विश्वास छ”, उनले भने ।
सो समारोहमा मन्त्रालयकी सचिव राधिका अर्यालले स्व पत्रकार रजकको परिवारको मागअनुसार न्यायका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताइन्। स्व. पत्रकार रजकको परिवारले उक्त घटनाको दोषी पत्ता लगाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग राखेकी थिइन् ।







