काठमाडौँ। भारतको लद्दाखमा छुट्टै राज्यको माग गर्दै आन्दोलन अभियन्ता सोनम वाङचुक पक्राउ परेका छन् ।
भारतीय प्रशासनले राष्ट्रिय सुरक्षा ऐन (एनएसए) अन्तर्गत वाङचुकलाई पक्राउ गरिएको जनाएको छ ।
लद्दाखलाई भारतीय संविधानको छैटौँ अनुसूचीमा समावेश गर्नुपर्ने र पूर्ण राज्यको हैसियत दिनुपर्ने माग गर्दै अनशनमा बसेका वाङचुकले बिहीबार अनशन तोडेका थिए ।
बिहीबार अनशनरत दुई जना अभियन्ताका स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको थियो । अनशनरत अभियन्तालाई अस्पताल भर्ना गर्नुपर्ने स्थिति आएपछि आक्रोशित युवाहरू बुधबार आम हड्ताल आह्वान गरेका थिए ।
आम हड्तालका क्रममा प्रदर्शन उग्र भएपछि प्रदर्शनकारीले लेह लद्दाखमा रहेको सत्तारुढ भारतीय जनता पार्टी ९भाजपा० को आगजनी गरेका थिए ।
त्यसपछि भाजपा र सरकारले प्रदर्शन भड्किनुमा भारतीय कंग्रेस र अभियन्ता वाङचुकको भूमिका रहेको आरोप लगाएको थियो । विशेषतः वाङचुकले भड्काउ अभिव्यक्ति दिएको सरकार पक्षको आरोप छ ।
शुक्रबार पक्राउ परेका वाङचुकलाई लामो समयसम्म हिरासतमा राख्न सक्ने विश्लेषण भइरहेको छ । वाङचुकलाई पक्राउ गर्न र लगाइएको आरोपका आधारमा उनले जमानतको अपिल समेत गर्न पाउने छैनन् ।
भारतीय सञ्चार माध्यम एनटीभीले सरकारी स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेअनुसार वाङचुकलाई शुक्रबार राति नै वा शनिबार बिहान लद्दाखबाट बाहिर लगिने तयारी छ ।







