दशैँ नेपालको सबैभन्दा ठूलो पर्व हो। हिन्दु धर्मावलम्बीहरूको महान् चाड दशैँ अहिले सबै सम्प्रदायमा भव्यताका साथ मनाउँदै आइएको छ।
यस वर्ष २०८२ को दशैँ अन्य दशैँ भन्दा पृथक् पृष्ठभूमिमा मनाइँदै छ। २०८२ भदौ २३ र २४ गतेको अभूतपूर्व जेनजी आन्दोलनको पृष्ठभूमिमा यो पर्व हामी नेपालीहरूले मनाउँदै छौँ। जेनजी आन्दोलनले अत्यन्त भयानक तवरले तत्कालीन सरकार विस्थापित गर्यो। यही दौरानमा जेनजीहरूको आन्दोलनको उद्देश्य भन्दा विपरीत गएर धेरै व्यक्तिहरूले सार्वजनिक सम्पत्तिमा आगजनी गरे। नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार जल्यो। सिंहदरवार परिसरका अधिकांश गाडीहरू जले। गृह मन्त्रालय जल्यो र शिक्षा मन्त्रालय पूर्ण रूपले जल्यो र अरू मन्त्रालयहरूमा तोडफोड र लुटपाट भयो अनि अधिकांश पार्किङ गरेर राखिएका गाडीहरू जले। सिंहदरवार परिसर ध्वस्त र खरानी भयो। न्यायपालिकाको प्रमुख केन्द्र सर्वोच्च अदालत जल्यो। नजिकैको स्वास्थ्य मन्त्रालय खरानी भयो। देशभरि सरकारी कार्यालय, प्रहरी कार्यालयहरू जले। अहिले देश खरानीबाट उठ्नुपर्ने भएको छ। अब हामी हरेस खाँदैनौँ। विश्व इतिहास हेर्दा जसरी हिरोसिमा र नागासाकी खरानी भएपछि जापानले विकास गर्यो, त्यसरी नै अब हामी उठ्नुपर्छ। यो देश बनाउनुपर्दछ। यो भावना जागृत हुनु पर्दछ सम्पूर्ण नेपालीहरूमा।
देशको यो पृष्ठभूमि छ। देशमा नयाँ आशालाग्दो सरकार बनेको छ। यस परिवेशमा नेपालीहरूको महान् चाड बडादसैँ आएको छ। त्यस लगत्तै तिहार आउँदै छ। काठमाडौँको यो परिवेशमा म यस पटक दशैँमा घर जाऊँ कि के गरौँ भएको छु। जेनजी आन्दोलनको परिवेशमा ७२ जना व्यक्तिहरूले ज्यान गुमाएका छन्। ती शहीद भएका परिवारहरू शोकाकुल छन्। यो शोकाकुल परिवेशमा यस पटक म गाउँघर जाऊँ कि नजाऊँ भएको छु। मेरो आमा अनि आफन्तहरू पर्खिरहेका छन्, ‘बाबु आउ’ भन्दै। मनमा एक प्रकारको छटपटी छ। यो आन्दोलनकै दौरानमा म एक प्रकारको बिमार बनेको छु।
यता जेनजी आन्दोलन चर्किँदै थियो, मेरो बिमारी पनि चर्किँदै थियो। हो, अब यो देशबाट भ्रष्टाचार हट्नुपर्दछ। यहाँ सुशासन आउनुपर्दछ। हामी कर्मचारीहरू, सुरक्षा निकायहरू, उच्च अधिकारीहरू, व्यापारीहरू, पत्रकारहरू र जनताहरू अब नयाँ ढङ्गले अघि बढ्दै सारा जोड देश विकासमा लगाउनुपर्छ। देशको नेतृत्व गर्ने नेतागणहरू अब जेनजी आन्दोलनको भावना बमोजिम आमूल रूपमा परिवर्तन भई देशको नेतृत्व गर्नुपर्दछ। मलाई लाग्छ, अहिले जेनजी आन्दोलनपछि बनेको सरकार नेपालमा भएका र देखिएका मान्छेहरूमध्ये राम्रा र विज्ञ व्यक्तिहरू संलग्न सरकार हो। अब सारा नेपालीले यस सरकारलाई सहयोग गरी देश निर्माणमा जुट्नु पर्दछ। घोषणा भएको निर्वाचनमा स्वच्छ तरीकाले सम्पन्न गरी उत्कृष्ट व्यक्तिहरू निर्वाचित गराउन र उत्कृष्ट सरकार बनाउन अब हामी नेपाली कस्सिनु पर्दछ।
अब जेनजीहरू विदेश पलायन होइन, यही देशमा आर्थिक उन्नतिको लागि खट्नुपर्दछ। अब हामीसँग ढिलासुस्ती गर्ने छुट छैन। अब अनियमितता गर्ने छुट छैन। फेरि पनि हामी पुरानै ढङ्गले चल्यौँ भने देश बन्दैन। अब सम्पूर्ण मुद्दा र ध्यान देशको आर्थिक क्रान्ति गरी विकसित मुलुक बनाउन अब जेनजी लाग्नु पर्दछ।
देशको परिवेश यस्तो छ। देश निर्माणमा हामी जुट्नु छ। खरानी भएका संरचनाहरू पुनः निर्माण गर्नुछ। देशबाट भ्रष्टाचारको जालो निर्मूल गर्नुछ। देशमा सुशासन ल्याउनु छ। यसै परिवेशमा आउँदै गरेको बडादसैँमा म घर जाऊँ कि नजाऊँ भएको छु। मेरी आमा लमजुङ गाउँमा बाटो हेरेर बसिरहेकी छन्। तर म यहाँ यो दशैँमा घर जाऊँ कि नजाऊँ भएको छु।







