काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले आफूविरुद्ध गलत र भ्रम छर्ने काम भइरहेको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै उनले सामाजिक सञ्जाल र मिडियाहरूमा आफूविरुद्ध गलत प्रचार भइरहेको बताए ।
पार्टी निर्माण, पुनर्गठन, रूपान्तर, शुद्धीकरण लगायतका सन्दर्भमा विगत दुई वर्षदेखि पार्टीभित्र र विभिन्न तहमा आफूले बहस चलाएको उनले बताए ।
नयाँ युगमा पार्टी कसरी निर्माण गर्ने र नयाँ पुस्तामा नेतृत्व कसरी हस्तान्तरण गर्ने लगायत विषयहरू राखेकै कारण ती बहसलाई डाइभर्ट गर्न आफूविरुद्ध भ्रामक र दुष्प्रचार भइरहेको उनको भनाइ छ ।
उनले भने, ‘विशेष गरी अहिले हिजो आज एउटा प्रचार भइराख्या छ कि मैले कुनै अर्को व्यक्तिको नाममा फेरि अर्को पार्टी बनाइरहेको छु भनेर प्रचार गरिएको छ। यो भ्रमपूर्ण एउटा समाचार हो।’
जेनजी आन्दोलनपछि परम्परागत ढंगले पार्टी अघि बढ्न नसक्ने भएकोले नयाँ ढंगले पार्टी निर्माण गर्नु पर्ने भन्दै उनले नयाँ जगमा पार्टी उठाउनका लागि बहस गरिरहेको र गरिरहने उनले बताए ।
उनले भने, ‘नयाँ ढंगले पार्टी निर्माण गर्नुपर्छ भन्ने बहस गर्दा फलानाको नेतृत्वमा पार्टी बनाउन लाग्यो, यो गरियो भनेर पार्टी भित्रकै साथीहरू”ले अनावश्यक प्रचार गर्ने, भ्रम हाल्ने र जनतालाई भ्रमित पार्ने काम भइरहेको छ । त्यसको म खण्डन गर्न चाहन्छु ।’
उनले अगाडि भने, ‘पार्टी त नयाँ बनाउनै पर्छ । नयाँ ढंगले जानै पर्छ । कि जेनजी आन्दोलनले हामीलाई एउटा स्पष्ट मार्ग निर्देशन गरिसकेको छ । चुनौती खडा गरिसकेको छ । आन्दोलनले कुन ट्रयाकमा जानुपर्छ भन्नेबारेमा स्पष्ट गरिसकेको छ । त्यसलाई स्वीकार गरेर जाने, अहिलेसम्म भएका कमी कमजोरी आत्मालोचना गरेर जानुपर्छ ।’
जेनजी आन्दोलनको ग्राउन्ड तयार गर्ने काम सरकार, राजनीतिक दल, राजनीतिक दलका नेतृत्वले गरेको उनको तर्क छ ।







