काठमाडौँ । वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौँ गोकर्णेश्वर नगरपालिका-७ बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-७ घर भएका २२ वर्षीय आदर्श तिमल्सिना र सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-४ घर भएका ३४ वर्षीय आशिष खोखाली रहेका छन् ।
पक्राउ मध्ये आदर्शले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३० लाख ५० हजार रुपैयाँ र आशिषले ११ लाख ५० हजार रुपैयाँ लिई फरार भएको प्रहरीले जनाएको छ ।
फरार भएपछि पीडितले दिएको उक्त उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।







