काठमाडौँ। रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षा पास गरेर पनि दुई वर्षदेखि दक्षिण कोरिया जान नपाएका युवाको समस्या समाधान गर्न सरकारले पहल थालेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले आन्दोलनरत युवासँग आज छलफल गरेका छन् । कोरिया जान पाउनुपर्ने माग राख्दै दुई वर्षदेखि रोस्टर सूचीमा नपरेका युवाले ग्वार्कोस्थिल ईपीएस शाखा कार्यालयमा प्रदर्शन गर्दै आएका छन् ।
मन्त्रालयमा भएको छलफलमा उनीहरूका मागका विषयमा जानकारी लिइएको थियो । छलफलमा सहभागी एक अधिकारीका अनुसार मन्त्री र श्रम मन्त्रालयका अधिकारीहरूले उनीहरूका माग सुनेका थिए । त्यसपछि मन्त्रालयमा छलफल गरेर समस्या समाधान गरिने आश्वासन मन्त्री भण्डारीले दिएका थिए ।
उनीहरूसँगको छलफलपछि मन्त्री भण्डारीले मन्त्रालयका अधिकारीहरूसँग आन्तरिक छलफल गरेका थिए । छलफलमा उनीहरूले उठान गरेका विषय समाधानका उपाय खोजिएको थियो ।
जसमा उनीहरूका माग सम्बोधन गर्न उच्चस्तरीय टोली कोरिया पठाउने, कूटनीतिक पत्र लेख्ने लगायत विषयमा छलफल भएको थियो । ती अधिकारीका अनुसार भोलि मन्त्रालयमा थप छलफल गरेर निर्णय गरिने छ ।
मन्त्रालयको आन्तरिक छलफलमा ती विकल्प अघि सारिएको र भोलि निर्णय हुने बताइएको छ ।
दुई महिनाअघि समेत उनीहरूले कोरिया पठाउन ढिलाइ भएको भन्दै ईपीएस शाखामा आन्दोलन गरेका थिए । त्यो बेला श्रम मन्त्रालय र आन्दोलनरत युवाबीच सहमति भएको थियो । तर, दुई महिना बित्दासमेत सरकारले केही नगरेको भन्दै उनीहरू पुनः प्रदर्शनमा उत्रिएका हुन् ।
भाषा र सिप परीक्षा पास गरेको दुई वर्ष बित्न लाग्दा पनि कोरिया जान नपाएको भन्दै उनीहरू प्रदर्शनमा उत्रिएका थिए । भाषा परीक्षा पास गरेर कोरिया जाने प्रतीक्षामा रहेको २ वर्ष हुन लाग्दा समेत जान नपाएको भन्दै उनीहरूले सरकारमाथि आरोप लगाउँदै आएका छन् ।
सन् २०२५ का लागि १ लाख ६३ हजार जना परीक्षामा सहभागी भएकोमा १७ हजार ३० जना भाषा परीक्षामा उत्तीर्ण भएका थिए । तीमध्ये अधिकांशको अहिलेसम्म करार सम्झौता समेत नभएका कारण कोरिया जान पाएका छैनन् ।
कोरियामा कामदार पठाउन थप विज्ञापन र परीक्षा लिनुभन्दा पहिले पास गरेका कामदारलाई कोरिया पठाउनुपर्ने उनीहरूको माग छ ।







