झापा । कनकाई नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान झोलाभित्र शंकास्पद वस्तु फेला परेको छ ।
कनकाई पुलको पूर्वतर्फ राजमार्गको छेउमा फेला परेको उक्त झोलामा प्रेसर कुकर राखिएको र झोला बाहिर तारजस्तो वस्तु बाहिर निकालिएको पाइएको हो । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले शंकास्पद वस्तु के हो भन्ने यकिन भई नसकेको र सुरक्षा निकायले त्यसको पहिचान र डिस्पोज गर्ने तयारी गरिरहेको बताए ।
स्थानीयवासीले उक्त वस्तु देखेपछि सुरक्षा निकायलाई खबर गरेका थिए । हाल प्रहरीले उक्त स्थानलाई शिलबन्दी गरेको छ भने राजमार्गको अर्को छेउबाट सुरक्षित रूपमा सवारीसाधन तथा यात्रीहरूको आवागमन भइरहेको प्रजिअ गेलालले जानकारी दिए।
घटनास्थलमा प्रहरीको टोली परिचालन गरिएको छ । शंकास्पद वस्तुको डिस्पोजका लागि नेपाली सेनाको डिस्पोजल टोलीलाई खबर गरिसकिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिएका छन् ।







