काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसन आफ्नो कार्यकाल औपचारिक रूपमा समाप्त गरी स्वदेश फर्किएका छन्। उनी शुक्रबार साँझ परिवारसहित कतार एयरलाइन्सको विमानबाट काठमाडौँबाट प्रस्थान गरेका हुन्।
राजदूत थम्पसन कतार हुँदै अमेरिका गएका हुन्। कार्यकाल समापनसँगै उनले राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार बिदाइ भेट गरेका थिए।
यसअघि, काठमाडौँस्थित अमेरिकी राजदूतावासले गत शनिबार एक औपचारिक कार्यक्रम आयोजना गरी राजदूत थम्पसनको सम्मानसहित बिदाइ गरेको थियो। उनले २०७९ कात्तिक ४ गते तत्कालीन राष्ट्रपति विद्या भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र पेस गर्दै नेपालमा आफ्नो कार्यकाल सुरु गरेका थिए।







