काठमाडौँ। जिल्ला प्रशासन कार्यालय रौतहटले शान्ति सुरक्षाका लागि व्यक्तिगत नाममा इजाजत प्राप्त हातहतियार बुझाउन सबैलाई आग्रह गरेको छ।
प्रशासनले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयमुक्त र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न जिल्लाका विभिन्न व्यक्तिका नाममा इजाजत प्राप्त हातहतियार माघ २० गतेभित्र अनिवार्य रूपमा बुझाउन निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादवले जानकारी दिए ।
प्रशासनले इजाजत प्राप्त हातहतियार र सोमा प्रयोग हुने गोलीगट्ठा जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकीमा बुझाउन निर्देशन दिएको छ ।
प्रशासनले हातहतियार बुझाउँदा प्रहरी कार्यालयबाट अनिवार्य रूपमा भरपाई रसिद लिन आग्रह गरेको छ। साथै, अगामी चैत २० गतेपछि सोही कार्यालयमा भरपाई पेस गरेमा सम्बन्धित हातहतियार धनीलाई मात्र हातहतियार फिर्ता गरिने सूचनामा उल्लेख गरिएको छ।
तोकिएको समयभित्र हातहतियार तथा खरखजाना नबुझाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ। जिल्ला प्रशासन कार्यालय रौतहटले आगामी निर्वाचनलाई मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लावासी सबैबाट पूर्ण सहयोगको अपेक्षा गरेको छ।








