काठमाडौँ । सरकारले नेपाली चलचित्र उद्योगको समग्र विकास र प्रवर्द्धनलाई ध्यानमा राख्दै सम्बन्धित कानुनी व्यवस्थामा सुधारको प्रक्रिया अघि बढाउने जनाएको छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले संघीय संसदको राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्थापन समितिको सोमबार सिंहदरबारमा सम्पन्न बैठकमा बोल्दै चलचित्र क्षेत्रसँग सम्बन्धित विद्यमान कानुनलाई समसामयिक आवश्यकता अनुसार परिमार्जन गरिने जानकारी गराएका हुन् ।
उनका अनुसार कानुन संशोधनका सन्दर्भमा सांसदहरूबाट व्यक्त गरिएका धारणा र सुझावहरूले मुलुकभरको अपेक्षा र आवश्यकता प्रतिनिधित्व गरेका छन् । सरकारले नेपाली समाजको चाहना अनुरूप गुणस्तरीय चलचित्र निर्माण र विस्तारका लागि आवश्यक नीतिगत तथा कानुनी आधार तयार गर्न चाहेको मन्त्री सिन्हाले स्पष्ट पारे ।
बैठकमा चलचित्र क्षेत्रको दिगो विकास, प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि र संस्थागत सुधारसँग जोडिएका विषयमा समेत छलफल भएको बताइएको छ ।







