काठमाडौँ। भक्तपुरको थिमि नगरपालिका-७ स्थित नगदेशमा ऐतिहासिक तथा पौराणिक पुलुकिसी नाच प्रदर्शन गरिएको छ । नेवा ऐतिहासिक सांस्कृतिक भजन खल: को आयोजनामा नगदेशमा शुक्रबार साँझ पुलुकिसी नाच प्रदर्शन गरिएको हो ।
नगदेशमा परापूर्वकालदेखि नै पुलुकिसी नाच जात्राको रूपमा प्रदर्शन हुँदै आएको छ । पुलुकिसी नाच नगदेशमा प्रदर्शन हुने विभिन्न ऐतिहासिक नाचहरूमध्येको एक प्रमुख नाच हो । यो नाच स्वस्थानी व्रत कथामा आधारित छ । नगदेशमा यो नाच सय वर्षभन्दा लामो समयदेखि प्रदर्शन हुँदै आएको छ । नाचको सम्पूर्ण विधि स्वस्थानी व्रतकथामा आधारित छ ।
नाचको समापन भने भक्तपुरकै चाँगुनारायण मन्दिर परिसरमा १८ माघमा गरिने नेवा: ऐतिहासिक सांस्कृतिक भजन खल: का अध्यक्ष तुल्सीभक्त घजुले जानकारी दिएका छन् ।







