काठमाडौँ । नेपाली सेनाले गोरखा-जितगढी पदयात्रा सुरु गरेको छ। ऐतिहासिक गोरखा-जितगढी पदयात्राको चौथो संस्करण आजदेखि गोरखाबाट सुरु भएको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ।
ऐतिहासिक सम्पदा, संस्कृति एवं अभिलेखको संरक्षण तथा प्रवर्द्धन गरी भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यका साथ सञ्चालन भएको उक्त पदयात्रा पश्चिम पृतनापति उपरथी भोलानाथ थापा र गोरखा नगरपालिकाका उप प्रमुख मसली माया थोकरले टर्च तथा झन्डा हस्तान्तरण गरी शुभारम्भ गरेका हुन् ।
पदयात्रामा नेपालको राष्ट्रिय झन्डा, नेपाली सेनामा सबैभन्दा पहिले खडा भएका ५ (पाँच) कम्पनीहरू (श्रीनाथ, कालीबक्स, बर्दवाणी, पुरानो गोरख तथा सबुज), तथा जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डासहित गोरखा जिल्लामा तैनाथ श्री रुद्रध्वज गणबाट ऐतिहासिक पोसाक तथा परम्परागत बाजागाजा सहितको टोलीको सहभागिता रहेको सेनाले जनाएको छ ।
करिब ३०५ कि.मि. दुरीमा सञ्चालन हुने पदयात्रा गोरखा, तनहुँ, स्याङ्जा, पाल्पा हुँदै रुपन्देहीको बुटवलस्थित जितगढीसम्म पुगेर २०८३ वैशाख ०७ गते विजय उत्सव समारोहका साथ समापन हुने छ। शुभारम्भ कार्यक्रममा गोरखा जिल्लाका न्यायाधीश, पालुङ्गटार नगरपालिकाका नगर प्रमुख, बुटवल उपमहानगरपालिकाका उप प्रमुख, श्री नं. ३ बाहिनीका बाहिनीपति, सहायक प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकाय एवं सरकारी कार्यालयका पदाधिकारीहरू, इतिहासविद्, जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मी लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो।












