काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनको नाममा काठमाडौँसहित विभिन्न स्थानमा घर, जग्गा, सुन तथा सेयर लगानी रहेको देखिएको छ।
विवरण अनुसार काठमाडौँमा दुई वटा घर रहेका छन्। काठमाडौँ वडा नम्बर ४ मा आमा मिनाक्षी ओझाको नाममा करिब ४ करोड रुपैयाँ मूल्यको घर रहेको छ भने कागेश्वरी मनोहरामा आमा कै नाममा करिब ५ करोड रुपैयाँ मूल्यको अर्को घर रहेको उल्लेख गरिएको छ। ती घरहरू बुवाको पारिश्रमिक तथा पैत्रिक सम्पत्तिबाट निर्माण गरिएको विवरणमा जनाइएको छ।
जग्गा स्वामित्वतर्फ मन्त्री पोखरेलसँग काठमाडौँ, ललितपुर र मोरङमा गरी पाँच स्थानमा जग्गा रहेको उल्लेख छ। ती जग्गाहरू बुवा रमेशकुमार पोखरेल र आमा मिनाक्षीको नाममा रहेको र हालको कुल मूल्य करिब ११ करोड ५० लाख रुपैयाँ रहेको विवरणमा उल्लेख गरिएको छ।
धातु सम्पत्तितर्फ करिब २५ तोला सुन र १०० तोला चाँदी रहेको जनाइएको छ, जसको अनुमानित मूल्य करिब ७५ लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ।
वित्तीय सम्पत्तिमा विभिन्न बैंकमा करिब ४ लाख ५० हजार रुपैयाँ बचत रहेको तथा विभिन्न कम्पनीमा करिब १ करोड ८० लाख रुपैयाँ बराबरको सेयर लगानी रहेको देखाइएको छ।
ऋणतर्फ दुई वटा बैंकबाट करिब ७५ लाख रुपैयाँ कर्जा लिएको उल्लेख गरिएको छ। साथै, करिब ७० लाख रुपैयाँ मूल्यको विद्युतीय सवारी साधन र करिब ४० लाख रुपैयाँ मूल्यको बीवाइडी डलफीन कार पनि स्वामित्वमा रहेको विवरणमा उल्लेख छ।







