काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको विधान प्रतिनिधि सभा सदस्यहरूको छलफलपछि पारित भएको छ। दलभित्रको आन्तरिक प्रक्रिया अघि बढाउँदै बिहीबार बसेको बैठकमा सांसदहरूले प्रस्तावित विधानमा सहमति जनाएका हुन्।
पारित विधानलाई औपचारिक अनुमोदनका लागि पार्टी संरचनामा पठाइएको जानकारी सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ ले दिएका छन्। उनी काँग्रेस संसदीय दलको नेता चयनका लागि गठन गरिएको निर्वाचन समितिको संयोजकसमेत हुन्।
उनका अनुसार सांसदहरूसँग विस्तृत छलफलपछि विधानलाई अन्तिम रूप दिइएको हो र अब आवश्यक प्रक्रियाका लागि पार्टीलाई पठाइसकिएको छ।
यसैबीच, नेपाली काँग्रेसले भोलि शुक्रबार संसदीय दलको नेतृत्व चयन गर्ने तयारी गरेको छ। २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सिट प्राप्त गरेको थियो।







