काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले सरकारले अध्यादेश जारी गर्ने निर्णयलाई राजनीतिक साहसको विषय नभई परिस्थितिजन्य कदमका रूपमा टिप्पणी गरेका छन्। उनले संसद् अधिवेशन स्थगित अवस्थामा अध्यादेशमार्फत काम अघि बढाउने प्रवृत्तिमाथि प्रश्न उठाएका हुन्।
प्रतिनिधि सभा अन्तर्गत राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व समितिका सभापति समेत रहेका कार्कीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै झन्डै दुई तिहाइ समर्थन रहेको दाबी गर्ने दलले अधिवेशन नबोली अध्यादेशको बाटो रोज्नु किन आवश्यक पर्यो भन्ने विषय भविष्यमा स्पष्ट हुने बताएका छन्। उनका अनुसार यस्तो कदमलाई बहादुरीका रूपमा व्याख्या गर्न नमिल्ने संकेत गरेका छन्।
कार्कीले वर्तमान सरकारले संविधानको औपचारिक व्यवस्था प्रयोग गरे पनि त्यसको मूल भावना भने सम्मान गर्न नसकेको आरोप लगाए। उनले संविधान केवल शब्दमा सीमित दस्ताबेज नभई यसको जीवन्तता व्यवहार र उद्देश्यको पालना मार्फत कायम रहने बताएका छन्। संवैधानिक अधिकार प्रयोग गर्दा त्यसको मर्मलाई ओझेलमा पार्न नहुने उनको भनाइ छ।
अध्यादेशसम्बन्धी आफ्नो दृष्टिकोणबारे सामाजिक सञ्जालमा धेरै जिज्ञासा आएपछि स्पष्टीकरण दिएको उल्लेख गर्दै कार्कीले विगतमा अन्य सरकारले यस्तै कदम चाल्दा पनि आफूले आलोचनात्मक धारणा राखेको स्मरण गराएका छन्।
उनले करिब डेढ वर्षअघि पनि संसद्प्रति उत्तरदायी हुन नचाहेको भन्दै तत्कालीन एमाले-काँग्रेस नेतृत्वको सरकार अध्यादेशको विकल्पतर्फ उन्मुख भएको टिप्पणी गरेका थिए। त्यतिबेला विपक्षी दलहरू विशेष अधिवेशन बोलाउने तयारीमा रहेको अवस्थामा संसद्मा जवाफ दिनुपर्ने अवस्थाबाट बच्न अध्यादेश प्रयोग गर्न खोजिएको उनले आरोप लगाएका थिए।







