काठमाडौँ । नेपाली काँग्रेसले पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग मागिएको स्पष्टीकरणसम्बन्धी प्रक्रिया तामेलीमा राख्ने निर्णय गरेको छ।
काँग्रेस केन्द्रीय अनुशासन समितिको बुधबार बसेको बैठकले यसअघिको निर्णय पुनरावलोकन गर्दै उक्त विषयलाई हालका लागि निष्क्रिय बनाउने निर्णय गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।
खड्काले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेको विषयलाई लिएर गत वैशाख २ गते स्पष्टीकरण सोध्ने निर्णय गरिएको थियो।
तर त्यसपछि सर्वोच्च अदालतबाट वैशाख ४ गते सम्बन्धित विषयमा फैसला आइसकेकाले प्रारम्भिक निर्णयको औचित्य समाप्त भएको निष्कर्ष समितिले निकालेको जनाइएको छ।
सोही आधारमा खड्कासँग मागिएको स्पष्टीकरणसम्बन्धी निर्णय प्रक्रिया तामेलीमा राखिएको काँग्रेसले जनाएको छ।







